
कनकाई, १४ कात्तिक । अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष र महासचिवलाई यहाँस्थित रोटरी क्लब अफ सुरुङ्गा लगायतका संघ–संस्थाले स्वागत सम्मान गरेको छ ।
आइतबार झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल र अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष झापा सुरुङ्गा निवासी समेत रहनुभएका दिनेश पोखरेललाई विशेष कार्यक्रमका बीच रोटरी लगायतका संघ–संस्थाले सोमबार सुरुङ्गामा स्वागत सम्मान गरेको हो ।
रोटरीका अध्यक्ष शिव कडेँल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल–भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, रोटरियन अखिल कोइराला, टिका जम्मरकट्टेल, डिल्लीराम मैनाली, भगवती बचत तथा ऋण सहकारीका अध्यक्ष ख्याम प्रसाई, नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका सस्थापक अध्यक्ष तीर्थराज खरेल लगायतले नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल लगायतलाई स्वागत सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै समाजका नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले अन्तर्राष्ट्रिय झापाली समाजले झापामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको बताउँदै यसलाई निरन्तता दिँदै जाने प्रतिबद्धता जनाउनुभयो । झापामा हरेक वर्ष ८० जना विद्यार्थीलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्यापनको व्यवस्था मिलाइएको र त्यसका लागि १ करोड रुपैयाँकै अक्षयकोषको निर्माण गरिसकिएको उहाँले बताउनुभयो ।
सुरुङ्गामा एउटा पुस्तकालय स्थापना गर्नका लागि अन्य संस्थासँग समन्वय गर्ने, कनकाई नगर अस्पतालमा डाइलेसिस मेसिन राख्न सहयोग गर्ने, पर्यटकीय स्थल धनुषकोटीमा पिकनिक स्पटमा महिलाका शौचालय निर्माण लगायतका लागि झापाली समाजले अन्य संघसंस्थासँथ सहकार्य गर्ने अध्यक्ष ढुंगानाले बताउनुभयो ।


