
झापा, १६ कात्तिक । झापा मेचीनगर नगरपालिका–१ का राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा शहीद परिवारलाई गाई प्रदान गर्नुभएको छ ।
चिमरियाले आफ्नो ५० औं जन्मदिनको अवसरमा आज शहीद प्रेम उप्रेतीका परिवारलाई होलिस्टन जातको उन्नत गाई प्रदान गर्नुभएको हो । शहीद परिवारलाई उत्पादनसँग जोड्नका लागि आफूले गाई प्रदान गरेको उहाँले बताउनुभयो । “सधैं कसैले कसैलाई दिएर सक्दैन”, उहाँले भन्नुभयो, “उत्पादनसँग जोड्न सकियो भने त्यो दीगो हुन्छ ।”
चिमरियाले मेचीनगर–१३ स्थित काजीबारीमा बसोबास गर्दै आएको शहीद प्रेमको घरमा पुगेर उहाँका मातापिता गंगा र लक्ष्मिमा उप्रेतीलाई उक्त गाई हस्तान्तरण गर्नुभयो । अस्वस्थ्य अवस्थामा रहेका पिता गंगालाई समेत रू पाँच हजार एक सय प्रदान गर्नुभयो । तत्कालीन जनमुक्ति सेना प्रेमले २०५८ सालमा तेह्रथुमको बगालेमा भएको भिडन्तमा शाहदत प्राप्त गरेका थिए ।
सामाजिक कार्यमा क्रियाशील चिमरिलाले आजै अभिभावक गुमाएकी मेचीनगर–१० की दुई वर्षीया बालिका नाइसा राजवंशीलाई रू ५१ हजार र काजकिरिया खर्चका लागि समेत रू पाँच हजार एक सय प्रदान गर्नुभएको छ ।

नाइसा पिता २६ वर्षीय नरेश राजवंशीको गत कात्तिक १० गते मोटरसाइकल दुर्घटना निधन भएको थियो । परिवारमा परेको पीडामा सहयोग पुगोस् र बालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरेको दाता चिमरियाको भनाइ छ । बालिकालाई आगामी दिनमा थप सहयोग गर्ने समेत उहाँले जनाउनुभयो ।
खान–लाउन पुग्ने भएपछि जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै चिमरिया बताउनुहुन्छ । “म ३० वर्षको भएपछि मन्दिरमा दुई सय रुपैयाँ सहयोग गरेँ”, उहाँले भन्नुभयो, “त्यसयता जन्मदिन र वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्र्दै आइरहेको छु ।”
चिमरिया रितिका डेरी उद्योगका सञ्चालक, नेपाल डेरी एसोसिएसनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्ष हुन् ।


