
झापा, २३ कात्तिक । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण भएको छ ।
आज एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस्तक लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताए । जनयुद्धलाई जति दबाउन खोजे पनि चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ (जनयुद्ध) नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ’, प्रधानमन्त्रीले भने, ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ ।’
कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरूको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको पनि बताए ।
पुस्तकमा जनयुद्धकालमा अध्यक्ष प्रचण्डदेखि अन्य नेताहरू सँगको आफ्नो सम्बन्ध, राजनीतिक भूमिकाहरूको पनि पुस्तकमा चर्चा गरिएको पुनको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



