
झापा, २३ पुस । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अब राष्ट्रिय सभा अध्यक्ष बन्ने शीर्ष नेताहरूले बताएका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले आज बिहान १० बजे विराटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
सिटौलाको उम्मेदवारी दर्तासँगै शीर्ष नेताहरुले पनि सिटौलाको पक्षमा एकमुख भएका छन् अर्थात् सिटौलालाई अध्यक्ष बनाउने निश्चित भएको इराशा गरेका छन् । उनलाई राष्ट्रिय सभाको अध्यक्षमा लैजानकै लागि कोशी प्रदेशको अन्यतर्फबाट उम्मेदवार बनाइएको दाबी पनि नेताहरूले गरे ।
झापा ३ बाट प्रतिनिधिसभामा लगातार दुई पटक हारेका उनलाई शान्ति प्रक्रियामा खेलको योगदानका लागि भन्दै गठबन्धनले माथिल्लो सदनमा लाने भएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सिटौलाले जित्ने करिब–करिब निश्चितै छ ।

कांग्रेसका नेता डा शेखर कोइरालाले आफूहरू हारेको मान्छे उठाउने पक्षमा नभए पनि सिटौलाले शान्ति प्रक्रियाका लागि दिएको योगदानको कदर गर्नुपरेको बताएका छन् । ‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उठाएका हौँ । हामी हारेको मान्छे नउठाउने पक्षमा थियौँ,’ कोइरालाले छलफलमा भने, ‘तर, उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिकाको सम्मान तथा गणतन्त्रका लागि उहाँको योगदानको इतिहास हेरेर हामी सहमति दिएका हौँ ।’
सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको दाबी पनि उनले गरे ।
उक्त छलफलका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभा चलाउने बताए । ‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्व लिएर उहाँले थप योगदान दिनु हुनेछ,’ शर्माले छलफलका क्रममा भने। यसअघि राष्ट्रिय सभाको उम्मेदवारलाई लिएर कांग्रेसको संस्थापन र इत्तर समूहबीच तीव्र विवाद थियो । तर सिटौलालाई राष्ट्रिय सभामा लैजाने कुरामा दुवै पक्ष एकमत थिए ।
यसरी शान्ति प्रक्रियामा भूमिका निर्वाह गरेको भन्दै झापा–३ बाट दुई पटक हारेका सिटौलाले यस पटक राष्ट्रिय सभा अध्यक्षका रुपमा ‘शान्ति भाग’ पाउने देखिएको छ । चुनावी भाषण वा अन्य कुनै कार्यक्रम सिटौलाले पटक–पटक मुलुकमा शान्ति कायम गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



