
विराटनगर, २७ पुस । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाई छ ।
१० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ । उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गरिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।
सिलिन्डरमा बायोग्यास
तीन हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्राङ्गरिक मलसँगै बायोग्यास पनि उत्पादन गरिरहेको छ । यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्छन् । मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको उनको दाबी छ ।
ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर र अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ । बायोग्यास प्रमुख मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन हुन्छ ।
संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरीफीकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा ग्यास भरिन्छ । यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दूध वाला डेरी फर्मले प्रयोग गर्छ । ती उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् । दूध वाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताए । ‘एलपीजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘ साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको छ । प्रयोग गर्न पनि सहज भएको उनको अनुभव छ । ‘पहिला हामी दाउरा प्रयोग गथ्र्यौँ, जसका लागि एउटा लेबर छुट्टै चाहिन्थ्यो,’ उनले भने, ‘बायोग्यास जोडेपछि लेबर कष्ट जोगियो, काम गर्न पनि सजिलो भयो, दूध स्टीम (तताउन) गर्न धेरै छिटो हुन्छ, धुवा धुलो रहित पनि भयो ।’


