
रूपेन्द्र शेर्मा
उर्लाबारी, ५ मंसिर । मोरङको उर्लाबारी–७ इटहरा रोडस्थित भक्तिराम अधिकारीको घरमा मंगलबार दिउँसो आगलागि हुँदा करिब एक करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागिबाट नगद, गरगहना, लत्ताकपडा, काठपात, फर्निचर, खाद्यान्न, कागजपत्र, भाँडावर्तन, किराना पसलका सामग्रीलगायत अधिकारीको घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । अधिकारीको घरको भुईतल्ला सर्टरसहितको पक्की, माथिल्लो तल्ला काठको र टिनको छानो थियो । उनी होलसेल र खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए । आगलागिबाट अधिकारीको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
स–परिवार आफन्तको विवाहमा गएका बेला अधिकारीको घरमा आगलागि भएको हो । तालाचाबी लगाइएको अवस्थामा घरभित्रबाट आगोसहित धुँवाको मुस्लो देखेपछि छिमेकीहरुले सो घटनाका बारेमा थाह पाएका थिए । आगोलागि भएको थाह पाएपछि छिमेकीहरुले आफन्तको विवाहमा गएका घरधनी र प्रहरीलाई खबर गरेका थिए ।
के कति कारणले आगलागि भएको भन्ने यकिन नभएपनि घरमा सल्काइएको दियो बत्तीका कारण सो घटना भएको छिमेकीहरुको आशंका छ । तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन । अधिकारीको घर जलेपछि दक्षीणतर्फ सिमाना जोडिएको श्याम खुलालको घरमा समेत जलेर क्षति पुगेको छ । आगलागिबाट खुलालको घरमा भएको क्षतिको बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दमक, बिर्तामोड, धरान, सुन्दरहँरैचा, इटहरीलगायत स्थानबाट आएका दमकलले आगो नियन्त्रणमा लिएको थियो । स्थानीय बासिन्दा, नेपाल प्रहरी र स–शस्त्र प्रहरी उद्धारमा खटिएका थिए । दिउँसो करिब साढे एक बजेदेखि सुरु भएको आगलागि चार बजे नियन्त्रणमा आएको थियो ।
सो आगलागि भएपछि उर्लाबारी–६ स्थित सिद्धेश्वर शिब बाबा धामले महायज्ञको अवसरमा आयोजना गरेको धार्मिक र्याली स्थगित गरेको छ । महायज्ञ आयोजक समितिले मंगलबार दिउँसो उर्लाबारीमा धार्मिक र्याली प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । सो घटना प्रति धाम व्यवस्थापन समितिका अध्यक्ष डीपी खतिवडाले दुःख ब्यक्त गर्दै र्याली स्थगित गरिएको बताए । स्थानीय समाजसेवी सुकदेव पोद्दारले समेत आगलागिको घटना दुःखद भएको बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

