
भद्रपुर, १० माघ । झापामा नयाँ परिवार नियोजनको साधन प्रयोगमा आएको छ ।
जिल्लामा ‘साइना प्रेस’ नामक नयाँ गर्भ निरोधक तीन महिने सुई प्रयोगमा आएको स्वास्थ्य कार्यालय झापाका पब्लिक हेर्थ नर्स सुनिता राईले जानकारी दिनुभयो । पहिलो चरणमा कोशी प्रदेशको दुई जिल्ला झापा र सुनसरीमा ‘साइना प्रेस’ प्रयोगमा आएको उहाँले बताउनुभयो ।
जिल्लाका १५ वटै पालिकाका स्वास्थ्यकर्मीहरुलाई सुईको प्रयोग विधिबारे प्रशिक्षण दिने काम भइरहेको छ । हाल कार्यालयलाई प्राप्त भएको तीन हजार थान सुई प्रत्येक पालिकामा दुई सयका दरले वितरण गरिएको उहाँले बताउनुभयो ।
साइना प्रेस तीन महिने सुइ डिपोको विकल्प हो । यसअघि दिइँदै आएको डिपोको तुलनामा कम ‘साइपडफेक्ट’ हुनुका साथै प्रभावकारी भएको उहाँको भनाइ छ । “यो सुई प्रयोग गर्न छाडेको १०–१२ महिना प्रजनन् क्षमता फर्कन्छ”, उहाँले भन्नुभयो, “पहिलो १८ महिनासम्म लाग्थ्यो ।”
डिपो ‘१५० एमजी’को रहेकामा साइना प्रेस ‘१०४ एमजी’ रहेको बताउँँदै उहाँले औषधिको मात्रा डिपोमा एक एमएल रहेकोमा साइनाप्रेस आधा एमएल मात्र हुने उहाँको भनाइ छ ।
साइना प्रेस सई पाखुरा, तिघ्रा र पेटमा लगाउन मिल्ने कनकाई नगरपालिकाका सिनियर अनमी टीकामाया दवाडीले बताउनुभयो । “पेटमा लगाउन मिल्ने भएकाले महिलाहरुले आफैँ प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो, “यो प्रयोग गर्न सजिलो छ, डोज कम भएकाले असर पनि कम हुन्छ ।”
प्रजनन् उमेर समूहका सबैले लगाउन मिल्ने यो सुइको प्रयोग विधि लगायतका बारेमा नगरभरिका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण समेत दिइएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


