
झापा, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको छ ।
एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्वप्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्वजिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १, २, ३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरुको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो । सो निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।
नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इञ्चार्ज सुनीता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. ३ (१) का इञ्चार्ज सन्तलाल मेचे एवम् पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सहइञ्चार्ज कालीचरण बस्नेतसहितको आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



