झापा, २५ माघ । कोशी प्रदेश सरकार र प्रदेश नं. १ पुनः नामकरण संघर्ष समितिबीचको वार्ता सकारात्मक रुपमा सकिएको छ । वार्ता सकारात्मक रहेको भन्दै दुवै पक्षले प्रतिक्रिया समेत दिएका छन् ।
विराटनगरमा आज दिउँसोदेखि सरकारको तर्फबाट बनेको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । आजको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको भन्दै जबेगूले बैठक भोलि बिहान ८ बजे पुनः बताए ।
संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । आ–आफ्ना कुरा राखिएको र केही विकल्पसहित आउन आग्रह गरिएको र वार्ता पुनः भोलि बिहान बस्ने जनाए ।
सरकारीतर्फबाट वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी वार्ता समिति बनाएको छ भने सङ्घर्ष समितिको तर्फबाट डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।
कोशी प्रदेश सभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।