
सन्तोष शर्मा
झापा, ३ फागुन । झापाको कनकाई नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरले पूर्वाधार विकाससँगै शिक्षक र विद्यार्थी लक्षित विभिन्न कार्यक्रम गरिरहेको हो । “शिक्षकलाई अब्बल बनाउने शिक्षकबाटै सिकाउने काम भइरहेको छ”, नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले भन्नुभयो, “शिक्षणमा दक्ष बनाउन एउटा विद्यालयबाट अर्को विद्यालय पठाइरहेका छौं, जसले शिक्षण शैलीमा सुधार आउनुका साथै शिक्षकको पनि दक्षता बृद्धि हुन्छ ।”

विद्यालयमा नयाँ तथा पुराना शिक्षकबीचको अनुभव साटासाट, शिक्षण विधि र शिक्षकभित्रका कमीकमजोरीलाई सुधार्ने किसिमका गतितिविध गरिरहेको उहाँको भनाइ छ । शिक्षकको क्षमता विकास लागि शिक्षककै मागको आधारमा तालिम सञ्चालन गरिररहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा छ वटा तालिम सञ्चालन गर्दैछौं ।”
नगरले कक्षा–१ देखि ६ सम्म स्थानीय पाठ्क्रमसमेत लागू गरेको छ । विद्यालयमा व्यवस्थित पाठ्क्रम लागू गर्न अभिभावकको चहना, विद्यार्थीको माग र विज्ञहरुको सल्लाह लिएर निर्माण गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताउनुभयो ।
विद्यालयमा दक्ष र प्रमाणित योग शिक्षकमार्फत् योग शिक्षा समेत लागू गरिएको छ । प्रत्येक विद्यालयका दुई जना शिक्षकलाई ३५ दिने तालिम दिएर नगरले योग शिक्षा लागू गरेको हो ।
विद्यार्थीको क्षमता अभिबृद्धि गर्न सात/आठ वटा विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन भइरहेको छ । विज्ञान प्रदर्शनी, नृत्य तथा गायन, हाजिरी जवाफ, वादविवाद लगायतका अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिता दिइएको शिक्षा शाखा प्रमुख गौतम बताउनुहुनुहन्छ ।
“नृत्य तथा गायततर्फ सम्भावित विद्यार्थी छनोट गरेर एक वर्षसम्म तालिम समेत दिने गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा समेत प्राप्त गरेका छन् ।”
नगरपालिकाले चालू आवमा कक्षा–११ र १२ का कनकाई माविका दुई सय ६८ जना, भृकुटी माविका १४ र आदर्श माविका ६८ जना गरी तीन सय ८० जना विद्यार्थीलाई रू चार हजारका दरले छात्रवृत्ति समेत उपलब्ध गराएको छ ।
त्यस्तै, सामुदायिक क्याम्पस अन्तरगत कनकाई बहुमुखीका १५ जना र आदर्श क्याम्पसका ५ जना विद्यार्थीलाई रू पाँच हजारका दरले छात्रवृत्ति दिएको छ भने प्राविधिक शिक्षा अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।
सामुदायिक विद्यालयतर्फ बालविकासदेखि कक्षा–८ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक खरीदका लागि प्रक्रिया समते अघि बढाइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । स्वयम्सेवक शिक्षक अनुदान कोटामा १४ वटा वितरण गरिएको छ ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल नगरले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखिएको बताउनुहुन्छ । उहाँले शिक्षित र योग्य नागरिक बनाउन सकेमात्र समृद्धिको सपना पुरा हुने बताउनुभयो । “भौतिक विकासले मात्र समृद्ध भइँदैन”, उहाँले भन्नुभयो, “मावन संशासनको पनि विकास हुन जरुरी छ, गुणस्तरीय शिक्षाले मात्र त्यो सम्भव छ ।”
कनकाई नगरपालिकामा सात वटा आधाभूत तह र सात वटा माध्यमिक तह गरी १४ वटा सामुदायिक विद्यालय छन् । गुरुकुल एक र मदरसा दुई वटा छन् । बालविकास केन्द्रको संख्या २८ वटा रहेको छ । जसमध्ये विद्यालयमा आधारित बालविकास केन्द्र २४ र समुदायमा आधारित ४ वटा रहेका छन् । नगरमा एक वटा सामुदायिक सिकाइ केन्द्रसमेत रहेको छ । नगरमा रहेका सामुदायिक विद्यालयको शिक्षकको तहगत दरबन्दी एक सय ७९ रहेको छ । नगरमा संस्थागत विद्यालयको संख्या भने २३ वटा रहेको छ ।
साक्षरता दर ८३.३ प्रतिशत रहेको कनकाई नगरपालिकाको शैक्षिक सत्र २०८० को कक्षा–१ देखि ५ सम्मको खुद भर्ना दर ८५.०६ प्रतिशत रहेको छ । त्यस्तै विद्यार्थी उत्तीर्ण दर ९५.४ रहेको छ ।

त्यस्तै, शैक्षिक सत्र २०८० मा विद्यालय जाने उमेरका बालिबालिको संख्या (इमिस अनुसार) बालशिक्षामा दुई हजार दुई सय २६, कक्षा–१ देखि ५ सम्म पाँच हजार आठ सय १०, कक्षा–६ देखि ८ सम्म तीन हजार चार सय पाँच, कक्षा–९ र १० मा दुई हजार, कक्षा–११ र १२ मा एक हजार तीन सय ३६ गरी १४ हजार आठ सय १३ रहेको छ ।
ती विद्यालयको पूर्वाधार विकास लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रू ५० लाख बजेट समेत विनियोजन गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो । त्यस्तै, नगरको समग्र शिक्षा क्षेत्रको विकासका लागि रू दुई करोड पाँच लाख विनियोजन गरिएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


