
झापा, २१ फागुन । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या–पर्यटन विकासको नाममा सामुदायिक वनभित्र पक्की संरचना बनाए कारबाही गर्ने बताउनुभएको छ ।
आज झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूह अन्तरगत निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको अवलोकन गर्ने गर्दै मन्त्री भौतिक संरचना कंक्रितको बनाइँदा वनका वन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने बताउनुभयो ।
“सिमेन्टेड संचरनाले वनको वातावरण स्वच्छ हुँदैन, वनभित्रको प्राकृतिक सुन्दरता समेत ओझेलमा पर्छ”, उहाँले भन्नुभयो, “वन हाताभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरिएको छ, त्यस्तो काम गर्नेलाई कारबाही गरिनेछ ।” प्रदेशभरिका वन कार्यालयलाई उक्त विषयमा सचेतसमेत गराइसकिएको उहाँले बताउनुभयो ।
यसअघि नै वन हाताभित्र निर्माण भइसकेका पक्की संरचनाका बारेमा पछि छलफल गरिने बताउँदै उहाँले भन्नुभयो, “अहिले नयाँ पक्की संरचना निर्माण गर्न बन्देज गरिएको छ, त्यस्तो पाइए कारबाही हुन्छ ।”
निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको विकासका लागि समूहले मन्त्री उप्रेती समक्ष रू दुई करोड बजेट माग गर्दै वन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई माग पत्र समेत बुझाउनुभएको छ । माग पत्र बुझ्दै मन्त्री उप्रेतीले सहयोगको आश्वास दिनुभएको छ ।
निचाझोडामा अहिले जलाशय निर्माण शुरु गरिएको छ । कोशी प्रदेशको जलाधार विकास व्यवस्थापन इकाइको रू २५ लाखमा बजेटमा जलाशय निर्माण शुरु भएको वन समूहका अध्यक्ष सिग्देलले बताउनुभयो । एक सय ४ मिटर लम्बाई र २७ मिटर चौडाईको जलाशय निर्माण भइरहेको हो ।
सिमसार क्षेत्रको विकासका लागि वडा कार्यालयले रू २७ लाख, मेचीनगर नगरपालिबाट फलामे पुलसहित रू १५ लाख बजेट विनियोजन गरेको छ । वनले आन्तरिक स्रोतबाट छ वटा गोलघर निर्माणसमेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



