
भद्रपुर, २३ फागुन । झापाको भद्रपुर नगरपालिकाले यहाँका अग्रज पत्रकारलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ ।
नगरपालिकाको १३ औं नगर सभाको अवसरमा अग्रज पत्रकार नकुल काजी र गोविन्दचन्द छेत्री नगद रू ३० हजार एकसहित दीर्घसेवा सम्मान प्रदान गरेको हो । पत्रकार काजी छ दशक र छेत्री पाँच दशकदेखि झापालाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
सोही अवसरमा पत्रकार दीपक अधिकारी नगर विकास पत्रकारिता पुरस्कार–२०७९ बाट र लेखनाथ परदेशीलाई नगर विकास पत्रकारिता पुरस्कार–२०८० द्वारा सम्मान गरिएको छ । पुरस्कारको राशी नगद रू १५ हजार एक रहेको छ ।
यस्तै, प्रोत्साहन पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार रेवतीराज घिमिरे र प्रोत्साहन पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार इशा प्रधानलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशी रू १० हजार एक रहेको छ ।
नगर सभाकै अवसरमा खेल क्षेत्रबाट नगरलाई विश्व माझ परिचित गराएको भन्दै चार जनालाई खेलाडीलाई सम्मान गर्दै कदर पत्र प्रदान गरिएको छ ।

गत पुसमा भारतको हैदराबादमा भएको १० औं विश्व इन्क्याइन बेञ्च प्रेस च्याम्पियनसिपमा ६५ केजी तौल समूहका मास्टर वुमेनका रुपमा स्वर्ण पदक विजेता भद्रपुर–७ की मेनुका पौडेल राजलवट, सोही प्रतियोगिता अन्तरगत ह्याकलिफ्टमा ५८ केजी तौल समूहमा सब–जुनियर वुमेन–१ आइबीटी च्याम्पियनसीपमा रजत पदक विजेता भद्रपुर–५ की सोनीदेवी दास, किक्रेट खेलाडी भद्रपुरका अंकित सुवेदी र स्टे«न्थ लिफ्टिङ च्याम्पियनसीपमा स्वर्ण पदक विजेता भद्रपुर–७ का प्रसिद्धभक्त राजलवट नगद रू २१ हजार एकसहित पुरस्कृत एवम् सम्मान गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला, पत्रकार महासंघ झपाका अध्यक्ष एकराज गिरी लगायतले सम्मानित एवम् पुरस्कृतहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
पुस्कार वितरण समारोहमा शुभकामना मन्तव्य राख्नुहुँदै अग्रज पत्रकार काजीले ६३ वर्षदेखि आफू सूचना सेवामा समर्पित भएको बताउँदै सत्यतथ्य सूचना प्रवाह गरेर नागरिकलाई सूसुचित गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी शुभकामना मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


