
बिर्तामोड, २८ फागुन । रिटर्नी सेन्टर नेपालको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भएको छ ।
झापामा पहिलो पटक भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । बैदेशिक रोजगारका सिलसिलामा बिभिन्न मुलुकमा रोजगारी गरेर फर्किएकाहरुको संगठन रिटर्नी सेन्टर नेपाल तदर्थ समिति झापाको आयोजनामा सोमवार बिर्तामोडमा सम्मेलन भएको हो ।
रिटर्नी सेन्टर नेपाल झापाका संयोजक सुवासचन्द्र मैनालीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो (मौसम) को प्रमुख आतिथ्य रहेको थियो । रिटर्नी सेन्टरका झापा सह–संयोजक डम्बर बोहोराले स्वागत गरेको कार्यक्रममा रिटर्नी सेन्टरका केन्द्रिय सदस्य राम सञ्जेलले औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन झापा सचिव समुन्द्रा लामाले गरेकी थिइन् । विदेशबाट फर्किएकाहरुको ज्ञान, सीप, अनुशासन र पुँजीलाई उत्पादनसँग जोड्ने अभियानका रुपमा रिटर्नी सेन्टर गठन भएको केन्द्रीय सदस्य सञ्जेलले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीयय सदस्य झलकसिंह दर्लामी, हरिकुमार राना, पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), सचिवालय सदस्य सीपी कडरिया, रिटर्नी सेन्टरका महासचिव भीम लकान्द्री, केन्द्रीय सचिवालय सदस्य तथा उत्पादन प्रवृधि तथा अन्तराष्ट्रिय संयोजक रमेश तुफान पण्डित, फ्याक्सन इन्चार्ज गगन पुरीलगायतको आतिथ्य रहेको थियो ।
जिल्ला सम्मेलनमा पार्टीका जिल्ला, नगर, वडाका प्रमुख तथा प्रतिनिधि, रिटर्नी सेन्टरका केन्द्र, प्रदेश, झापाका १५ वटैं स्थानीयतहका प्रतिनिधिको बाक्लो उपस्थिति रहेका छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



