
सन्तोष शर्मा
झापा, १५ चैत । झापामा आधुनिक कृषि प्रविधिको प्रयोग गरेर चैते धानको नमूना खेती गरिएको छ ।
किसानलाई धान खेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमूना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बिऊ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमूना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमूना खेती गरिएको उहाँले बताउनुभयो ।
“किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “बिऊ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।” सहकारीको मेसिन भाडामा लिएर किसानको खेतमा रोपाइँ गरिएको उहाँले बताउनुभयो । जसबाट बिऊ उखेल्ने खर्च बचत हुनेछ भने रोपाइँ खर्च आधाभन्दा बढी बचत हुने जनाइएको छ ।
मेसिनले रू चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा रू नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्ट बताउनुहुन्छ । बिऊ उखेल्ने र रोपाइँ गरेर करिब रू १५ हजार देखि रू २० हजार बचत हुने उहाँले बताउनुभयो । मेसिनले धान रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन बृद्धि हुने कार्यालयले जनाएको छ ।
उत्पादन भएको चैते धान न्यूनतम् रू नौ सय प्रतिमन (४० केजी) का दरले खरीद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । नमूना खेतीका लागि ज्ञान केन्द्रको रू १० लाख खर्च भएको छ । झापामा किसानहरुले ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा प्रविधिबाट समेत चैते धान खेती गरिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


