
सन्तोष शर्मा
झापा, १७ चैत । भारतबाट हुने अवैध आयात र दक्ष जनशक्तिको अभावले झापाका बेकरी उद्योग संकटमा पर्दै गएका छन् ।
लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, के–क लगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग संकटमा पर्दै गएको बेकरी उद्योग व्यवसायी संघ झापाका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो । “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।”
झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चा पदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग संकटमा पर्दै गएको बताउनुभयो । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उहाँले भन्नुभयो, “सरकारको नीति निर्यातमुखी भन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योगहरु टिक्न सक्ने र स्वदेशी उत्पादन बिक्न सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग–व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर नीति बनाउनुपर्नेमा जोड दिनुभयो । “विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”
घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको बताउनुभयो । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो”, उहाँले भन्नुभयो, “पुनः त्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौैं ।”
बेकरी उद्योगमा दक्ष कामदार (ओभन मास्टर) को अभाव भएको र भारतीय कामदारको भरमा उद्याग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी–व्यवसायीले गुनासो गरेको आएको उहाँले बताउनुभयो । उहाँले सोको समाधानका लागि कार्यालयको आयोजना चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गरिने समेत बताउनुभयो ।
बेकरी उद्योग संघमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्ष–परोक्ष रोगजारी प्रदान गरेको संघकी सदस्य भीमा शिवाकोटीले जानकारी दिनुभयो । उहाँले निरन्तर कच्चा पदार्थको मूल्यबृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताउनुभयो ।
दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको माग अनुसारको पारिश्रमिक दिने सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैध रुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


