
झापा, २२ चैत । इलाम–२ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ ।
आगामी बैशाख १५ गते हुने उप–निर्वाचनमा थेगिम पहिचान पक्ष रहेकाले सर्वसम्मत समर्थन गर्ने निर्णय भएको पार्टीका प्रदेश नं. १ अध्यक्ष धनबहादुर पङ्धाकले जानकारी दिनुभयो । इलाममा बसेको बैठकले थेगिमलाई समर्थन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यसैगरी, पार्टीले उपनिर्वाचन लक्षित संघर्ष समितिले गठन गरेका विभिन्न समितिमा प्रतिनिधि समेत चयन गरेको छ । उपनिर्वाचनका लागि संघर्ष समितिले गठन गरेको निर्देशन समितिमा ज्ञानबहादुर गुरुङ, निर्वाचन परिचालन समितिमा बलराम खवास, आर्थिक समितिमा एबी पङ्धाक, प्राविधिक समितिमा भविराज तुम्सालाई पार्टीको प्रतिनिधिको रुपमा जिम्मेवारी दिएको छ ।
त्यसैगरी, संघर्ष समितिसँग थप सहजीकरण गर्न समिति इन्दिरा मेन्याङ्बोको संयोजकत्वमा जीवन धामी चौधरी र दिलप्रसाद नेम्वाङ सदस्य रहेको सहजीकरढा समिति गठन गरेको हो ।
त्यसैगरी, उपनिर्वाचनमा संगठन विस्तारलाई तीव्रता दिन इलाम नगरपालिकामा पूर्णकला तेयुङ, देउमाइ नगरपालिकामा प्रयास वान्तवा, माइ नगरपालिकामा नन्दु याम्फू, फाकफोकथुम गाउँपालिकामा अमर इजम, माङ्सेबुङ गाउँपालिकामा रञ्जन सुब्बा र चुलाचुली गाउँपालिकामा शरणहाङ जबेगुलाई जिम्मेवारी दिइएको अध्यष पङ्धाकले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



