
इलाम, २४ चैत । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता गराएका हुन् । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन ।
इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यता माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गरेको छैन ।
राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
आज उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



