
झापा, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले कम्तीमा १५७ भन्दा कम नहुने गरी विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
माओवादीले दाबी गरे अनुसार विश्वासको मत पाएमा प्रधानमन्त्रीको पक्षमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १०, जसपाको ७, जनमत पार्टीको ६, नाउपाको ४ र आम जनता पार्टीको एक गरी कुल १५८ मत रहनेछ ।
जसपाको दुवै समूहले मत नदिएको अवस्थामा समेत प्रधानमन्त्रीले १५१ मत पाउने देखिन्छ । तीमध्ये नाउपाभित्रको विवादका कारण तटस्थ रहेमा पनि प्रधानमन्त्रीको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । जसपा, जनमत पार्टी र नाउपाले मत नदिएको खण्डमा पनि प्रधानमन्त्रीमाथि सङ्कट हुने छैन । त्यो अवस्थामा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० र प्रभु साहको एक गरी १४१ मत हुनेछ ।
यता कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा ११३ जना सांसद छन् । जसमा कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५, लोसपा ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाको एक÷एक सांसद छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



