
झापा, १२ जेठ । नेकपा माओवादी केन्द्रले दमक क्षेत्रमा १ लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ ।
पूर्वेली संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अगाडि बढाएको नेकपा माओवादी केन्द्रले एक घर एक लिची र कागतीको बिरुवा रोप्न लागेको पार्टीका प्रदेश समिति सदस्य दुर्गा चौलागाई (श्रीकान्त) ले जानकारी दिए । जनआन्दोलन पछि पूर्वको संगठन निर्माणमा पार्टीले खेल्नु पर्ने भूमिका कम भएको महशुस गरेर अभियान सञ्चालन गरिएको कोशी प्रदेश सदस्य बिरेन्द्र बस्नेतले बताए ।
पाँच वर्ष भित्र दमकलाई आत्मनिर्भर बनाउने उद्धेश्यले लिची र कागतीको बिरुवा घर घरमा रोप्न लागिएको पार्टीका दमक नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । जनतालाई उत्पादनसँग जोड्ने नीति अनुसार जेठ १३ गतेदेखि फलफूलका बिरुवा रोप्न लागिएको प्रदेश सदस्य श्रीकान्तले बताए ।
संगठन सुदृढीकरण अभियान कै बीच जनयुद्धमा सहयोग गर्ने परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य (अग्नी) ले जानकारी दिए । दमकका करिब एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शुभकामना पत्र समेत हस्तान्तरण गरिने उनले बताए । २०६४ पछाडी पार्टीको अवस्था निरन्तर खस्किएपछि माओवादी केन्द्रले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



