
कनकाई, १७ जेठ । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ ।
गएराति भएको निर्वाचनबाट ३ सय २ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छवीलाल थपलियाले २ सय ४ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १ सय ४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १ सय ८१ मत प्राप्त गर्दै विजयी बन्नुभयो । एमाले वडाकमिटी कनकाई वडा नं. ४ को सफल नेतृत्व प्रदान गर्दै आएका पौडेल स्थानीय स्तरमा क्रियाशिल एक सामाजिक कार्यकर्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुनुहुन्छ । उपाध्यक्षका अन्य प्रत्यासीहरु क्रमशः इन्द्र पुलामी मगरले ८४ मत, ऋषिकेश खतिवडाले १सय २४ मत, देवीप्रसाद उप्रेतीले १ सय ४१ मत र प्रेमबहादुर कटुवालले १सय५० मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।
त्यस्तै, सचिव पदका लागि एमालेका युवा नेताका रुपमा परिचित प्रकाश शिवाकोटीले २ सय ९५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उनका प्रतिस्पर्धी क्रमशः विश्वविजय खरेलले १ सय ५९ मत, मिनाल तिम्सिनाले १ सय २ मत र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै, उपसचिवमा पुरुषतर्फ ख्यामप्रसाद ओलीले ३ सय ९१ मत प्राप्त गर्दै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी शुक्रराज भण्डारीले १ सय ८५ मत र नविनकुमार राईले ६६ मत प्राप्त गर्नुभएको छ ।
महिला उपसचिवमा राधिका ओली कडरियाले सर्वाधिक मत ४ सय ७९ ल्याएर विजेता बन्नुभयो । उहाँका प्रतिस्पर्धीका रुपमा रहेकी विन्दा थापाले १ सय ६४ मत प्राप्त गर्न सफल भएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिनुभयो । निर्वाचनमा जम्मा ६ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा प्रतिनिधिका रुपमा कुल ७ सय ९२ मतदाता रहेका थिए । मतदान स्थल कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



