
चौतारा, १४ मङ्सिर । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए । पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।
श्रेस्तेदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

