
झापा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उहाँकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



