
सन्तोष शर्मा
झापा, १६ साउन । तीन वटा पहिचानवादी पार्टीबीच एकता भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बीच एकता भएको हो । तीन वटा पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी’ (नेजपा) गठन भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी पार्टी एकीकरणबारे जानकारी दिइएको छ । नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन वटा पार्टी बीच एकीकरण भएको बताउनुभयो ।
“पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौं”, उहाँले भन्नुभयो, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न जरुरी छ, त्यसका लागि हामी संघर्ष गर्छौं ।”
छ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टीको निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको छ ।
राज्य सत्ता सञ्चालकहरुले पहिचानको मुद्दालाई मेटाउने कोसिस गरेको नेजपाका पार्टी नेता सञ्जुहाङ पालुङ्वाले बताउनुभयो । “ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “यसबाट पहिचानवादीहरु पीडित बनेका छन् ।”

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले हेर्दा अपव्याख्या भएको बताउनुभयो । “पहिचान भनेको के हो ? यो धेरैलाई थाहा छैन”, उहाँले भन्नुभयो, “यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो ।”
तीन पार्टीबीच २०८० मंसिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएको र उक्त सहमतिलाई मिति २०८१ बैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले अनुमोदन गर्दै २०८१ जेठ २९ गते निर्वाचन आयोगबाट अध्यावधि भएपछि पार्टीको नाम संशोधन भएर ‘नेपाल जनमुक्ति पार्टी’ बनेको छ ।
एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे संथापक सदस्य, बरिष्ठ नेता डि.के. बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यबंशी र बाँकी अन्यको हकमा तत्कालीन पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ ।
त्यस्तै, पार्टी नेता सञ्जुहाङ पोलुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एल.वि. पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।
पार्टीले गिरीबन्धु टि–इस्टेट, कञ्चनपुर, बालमन्दिर, ललिता निवास लगायत देशभरका सरकारी जग्गा काण्ड, नक्कली भूटानी शरणार्थी, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण, सहकारी ठगी, सुन तस्करी लगायतको निष्पक्ष छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
यस्तै, पार्टीले आन्दोलनको स्वरुपलाई परिवर्तन गरिएको जनाएको छ । विस १८३१ को तत्कालीन नेपाल सरकार र लिम्बुवानबीच भएको नुनपानी सन्धिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न माग राख्दै साउन २२ गते कालो दिनको रुपमा निरन्तर गर्दै आएको एक दिने लिम्बुवान बन्द यस वर्ष (२०८१ श्रावण २२ गते) आन्दोलनको स्वरुप परिवर्तन गरी लिम्बुवानको सबै जिल्लाहरुमा कालो झण्डासहित कोणसभा गर्ने र विस १८३१ को तत्कालीन नेपाल सरकार र लिम्बुवान बीच भएको नुनपानी सन्धिको ऐतिहासिकता, महत्व र औचित्यको बारेमा एक दिने अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
पार्टीका उपमहासचिव बिष्णु थाम्देनले विज्ञप्ति वाचन गरेको कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश सचिव कृष्ण थेवेले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
