झापा, १७ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख शाहले सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । उनले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठुलो कार्यक्रम गरिरहनु नपर्ने बताए । उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए ।
प्रमुख शाहले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताए । उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरूको मुहार हेर्ने चाहना रहेको बताए । उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनको लागि काठमाडौँ महानगरले बजेट समेत व्यवस्था गरिरहेको बताए । उनले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए । उनले सम्पदा शैलीका सडक र घर भवनहरू भए पर्यटकहरूलाई आकर्षण अझै बढी हुने बताए ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरको वडा ८ ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक रूपमा महत्त्व बोकेको वडा भएको बताइन् । उनले वडाले बस्ती र बस्तीहरूलाई सांस्कृतिक र पुरातात्त्विक रूपमा पर्यटकीय रूपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई पनि अघि सारेको बताइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।