
झापा, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल, झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरु राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो ।
“राजनीति क्षेत्रमा विद्यार्थीहरूको सक्रिय सहभागिता महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन् ।”
राजनीति राम्रो भए मात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उहाँले बताउनुभयो । भन्नुभयो, “तपाईंहरु राजनीतिमा आउनुपर्छ, राजनीतिकलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थीहरु राजनीतिमा नआए मुलुकले उन्नती हासिल गर्न नसक्ने उहाँले बताउनुभयो ।
“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उहाँले भन्नुभयो, “तपाईंहरुले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ ।”
विद्यार्थीहरूको हकहितका लागि सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नयाँ नेतृत्वलाई सफलताको शुभकामना समेत दिनुभयो ।
अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टिकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन हुनुभएको छ । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुंगेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन हुनुभएको छ ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अञ्जरा आलम, राप्रपा जिल्ला सदस्य एवम् प्रदेश सभा सदस्य निमसरी राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



