
झापा, २१ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उपाध्यक्षसहितका थप गरिएका केन्द्रीय नेताहरूलाई शपथ खुवाउँदै पार्टीमा गुट नबनाउन चेतावनी दिए ।
‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने, ‘यस्तो कुरा कति सुनियो–सुनियो भन्नुहोला ! यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो।’
एमालेमा यतिबेला अध्यक्ष ओलीलाई चुनौती दिने नेता कोही पनि छैन। कसैले गुट बनाउने हिम्मत समेत गरेका छैनन्। तीन वर्षअघि (२०७८ साउन) माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी छोडेर नेकपा एकीकृत समाजवादी बनाएपछि एमालेमा ओलीको एकछत्र दबदबा कायम छ। महत्त्वपूर्ण पद जति सबै उनैले रुचाएका नेताहरूले पाएका छन्।
त्यति हुँदा पनि ओलीले किन गुट नबनाउन नेताहरूलाई चेतावनी दिए त ? यसको प्रमुख कारण हो, हालै भएको कार्यविभाजनप्रति एमाले नेताहरूमा बढेको असन्तुष्टि। छानीछानी आफू निकटकालाई मात्र नेतालाई जिम्मेवारी र अवसर दिएको भन्दै नेताहरू असन्तुष्ट छन्। साउन १७ गतेको एमाले सचिवालय बैठकले सातै प्रदेशका इन्चार्जको हेरफेर गर्दा ओलीले आफू निकटस्थहरूलाई मात्र मौका दिए।
कोसीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ। यी सबै नेताहरू ओलीका विश्वासपात्र हुन्। माओवादी छाडेका भट्ट पनि पछिल्ला दिन ओलीको विश्वास जित्न सफल भएका छन्। यसअघि उनी कर्णाली इन्चार्ज थिए।
त्यतिमात्र होइन, विदेश विभाग प्रमुख पनि ओलीले आफ्ना विश्वासपात्र रघुवीर महासेठलाई दिएका छन्। यसअघि २०८० जेठ १९ गते सात प्रदेशको इन्चार्ज तोक्दा योगेश भट्टराईलाई मधेस र गोकर्ण विष्टलाई गण्डकीको जिम्मा दिइएको थियो। तर, यसपटक उनीहरू दुवैको जिम्मेवारी खोसिएको छ।
सांसद भएकोले दोहोरो जिम्मेवारी नदिएको भनिएको छ। तर, ओलीनिकट केही नेताले दोहोरो जिम्मेवारी पाएका छन्। ‘हाम्रो अध्यक्षले आफ्नो रोजाइ अनुसार गर्नुभयो। जसलाई देख्नुभयो, मनपराउनुभयो, तिनलाई प्रोत्साहन गर्नुभयो,’ एक पदाधिकारीले भने, ‘मन नपराएकोलाई जिम्मेवारीविहीन बनाइएको छ।’ पछिल्ला दिन अध्यक्ष ओलीले पार्टीभित्र ‘एसम्यान’ खोज्न थालेको भन्दै उनले असन्तुष्टि जनाए।
‘सब ठीक छ, सबै राम्रो छ भन्ने परिस्थिति बनोस्, कमीकमजोरी, टिकाटीप्पणी नहोस् भन्ने पक्षमा हाम्रो अध्यक्ष हुनुहुन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘नयाँ कार्यविभाजन पनि सल्लाहबेगर आएको छैन, अध्यक्षले नरुचाइकन, नमानिकन आउँदैन।’ नेपालखबरबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



