
भापा, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय मूल्य मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिनु पर्ने माग गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रक लाइनका विषयमा अघिल्लो संसद्को लेखा समितिले गरेको निर्णय अहिलेको लेखा समितिबाट उल्ट्याउन खोजिएको आरोप लगाउनुभयो ।
उहाँले सरकारले नियम उलङ्घन गरेर विद्युत् प्राधिकरणका दुई जना कर्मचारीहरूलाई निलम्बन गरेको, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उद्योगी व्यापारीसँग रहस्यमय भेट गरेको आरोप समेत लगाउनुभयो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सेविता गौतमले सार्वजनिक स्थलमा आफूमाथि भएको दुर्व्यवहारका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले बाढी पहिरो र डुबानबाट देशका विभिन्न भागमा भइरहेको जनधनको क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै न्युनिकरणका लागि आग्रह गर्नुभयो । बाढी पहिरोका कारण देशका विभिन्न स्थानका सडक र पुलमा क्षति पुर्याएको भन्दै समयमा नै वैकल्पिक व्यवस्था गरी आवतजावत सहज बनाउन सरकारसँग सांसदहरुले माग गर्नुभयो ।
यसैगरी कुनै पनि देशको अर्थतन्त्र सुधार हुनको लागि त्यस देशका जनताको दैनिकी सहज हुनुपर्ने भन्दै सांसदहरुले हाम्रो मुलुकमा पनि बहुसङ्ख्यक नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



