
झापा, २२ साउन । कोशी प्रदेशका जिल्लास्तरीय नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टीभित्र बढ्दै गएको गुटगत शैली, हजुरीया प्रथा र विलासितामा रम्ने आचरण सुधार गरेर नयाँ शैली र योजनाकासाथ पार्टी हाँक्न सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश स्तरीय सातौं पूर्ण बैठकमा उपस्थित जिल्ला अध्यक्षहरुले मंगलबार बिराटनगरमा आफ्नो जिल्लाको संगठनिक रिपोटिङ राख्ने क्रममा यस्तो बताएका हुन् ।
यति बेला माओवादी केन्द्रमा सहानुभूति छ, तर पार्टीभित्र नेता र कार्यकर्ताको आचरण सुधारेर नाताबाद, विलासी जीवनशैली, गुटगत र चाकडी गर्नैहरु हावि भएको भन्दै माथिल्लो तहबाटै आफैले आफैलाई प्रश्न गर्न र सच्चिएर अघि बढ्न सक्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
पार्टीले पहिचानको मुद्धालाई छाड्न नहुने सुझावपनि दिएका छन् भने कम्युनिष्ट घटकहरु र समान मुद्धा भएका साना दलहरुसँग एकताको बाटो खुला राखेर छलफल चलाउन पनि सुझाव दिएका छन् ।
खोटाङका अध्यक्ष मनकुमारी रसाईली, इलामका विजय खम्बू, झापाका राजु आचार्य ‘अग्नी’, पाँचथरका विशाल, ताप्लेजुङका बीरु, मोरङका विजय विश्वास, सोलुखुम्बुका नाम्गेल, भोजपुरका नरेश भुजेल, ओखलढुंगाका यदु घिमिरे, संखुवासभाका टेकमान राई, धनकुटाका कुशुम श्रेष्ठ, तेह्रथुमका प्रकाश लगायतले जातीय मोर्चामा संगठन कमजोर हुँदै गएको बताउँदै मोर्चालाई सक्रिय बनाउनु पर्ने सुझाव दिएका छन् ।
प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिङ्सोको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुशिलले गरेका थिएभने प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, पूर्वमन्त्रीहरु अमनलाल मोदी, सुदन किराँती, धर्मशीला चापागाई, इन्द्र आङ्वो मौसम लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



