
झापा, २९ साउन । कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेश सरकारले कृषि अनुदानको अन्त्य गरिएको बताउनुभएको छ ।
झापाको मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा ¥यापिड रेस्पोन्स टिमको आयोजनामा सोमबार विश्व हात्ती दिवस–२०८१ को अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीेले कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि कृषि अनुदान दिने कामको अन्त्य गरेको बताउनुभयो ।
अनुदानको नाममा विकृति बढेको बताउँदै उहाँले कृषि अनुदानमा पहुँचवाला र गैरकृषकको हालीमुहाली बढेको बताउनुभयो । “अनुदानका लागि अर्काको गाईवस्तु ल्याएर गोठमा बाँध्ने गरिएको छ, यो विकृति अन्त्य गर्न प्रदेश सरकारले यस्तो कदम चालेको छ”, उहाँले भन्नुभयो, “अब अनुदान होइन, कृषकले बैंक वित्तीय संस्थाबाट लिने ऋणमा अनुदान दिइने छ ।” उहाँले कृषि बिमाको कार्यक्रमलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
मुलुकमा समृद्धि ल्याउने काम सरकारको भएको बताउँदै मन्त्री कार्कीले हात्ती प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । हात्ती चेतनशील प्राणी भएकाले ज्ञान र सचेनाको अभावका कारण मानव–हात्ती द्वन्द्व बढेको उल्लेख गर्नुभयो ।
“हात्तीलाई खेदाउँदा बढी नोक्सानी भइरहेको छ”, उहाँले भन्नुभयो, “हात्तीलाई खेदाउने होइन, हात्तीलाई पर्ने खानाको व्यवस्थापन वनक्षेत्र भित्रै गर्नुपर्छ, यसका लागि अभियान चलाउन जरुरी छ ।”
कोशी प्रदेश नै हात्ती प्रभावित क्षेत्र भएको उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले प्रदेश सरकारले हात्ती समस्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष न्यूटन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना कार्की, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, मेचीनगर–४ का अध्यक्ष अर्जुन कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्थानीय झुमामाया राईको हात्तीले घर भत्काएकाले उहाँलाई रू २२ हजार ६० क्षतिपूर्ति उपलब्ध गराइएको थियो । विगत ४५ वर्षदेखि हात्ती प्रभावित यो क्षेत्रका छ सय घरपरिवारको बिमा गरिएको छ ।
विश्व हात्ती दिवसको अवसरमा आज यहाँ अन्तर्राष्ट्रिय आमा मैत्री फुटबल प्रतियोगिता, अन्तरसीमा लठारो तान्ने प्रतियोगिता, लोकल कुखुरा प्रदर्शनी, चित्रकला लगायतका प्रतियोगिता गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



