सन्तोष शर्मा
बनियानी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।
आज रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जीत लिम्बू जानकारी दिनुभयो । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको छ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँको भनाइ छ ।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकेको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्न खोजिरहेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटरको दूरीमा रहेको दशगजा बाटा खनिएको उहाँले बताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक बाटो बनाउने कार्य भइरहेकाले विवाद भएको बताउनुभयो । उहाँले हाल काम बन्द भएको र छलफल भइरहेको बताउनुभयो ।
यसअघि पनि सो क्षेत्रमा बाटो बनाउँदा विवाद भएको र विवादपछि बाटो निर्माण कार्य बन्द गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । सोही बाटो भारतीय पक्षले मर्मत गर्न खोजेपछि नेपाली पक्षबाट अवरोध भएको सशस्त्र प्रहरीले जनाएको छ । विवाद समाधानका लागि पहल भइरहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।