
झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका ६३ नेताले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।
हिजोदेखि शुरु भएको दुई दिने प्रदेशस्तरीय परामर्श बैठकमा सुदूरपश्चिम प्रदेशका ६३ जना केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले पार्टी निर्माणका लागि सुझाव दिएका हुन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरूले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।
जसअनुसार सुदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



