
झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीलाई जोगाउनकै लागि आफु नेतृत्वको सरकार परिवर्तन भएको बताउनुभएको छ ।
माओवादी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आईपुग्नु भएका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको दाबी गर्नुभयो । “गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन”, उहाँले भन्नुभयो, “देशका भ्रष्ट्राचारीहरूलाई कारबाही गर्न थालेपछि म प्रधानमन्त्रीबाट बाहिरिनु पर्यो ।”
पूर्व प्रधानमन्त्री समेत रहनु भएका माओवादी अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको जनाउनु भयो । आफ्नो पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै उहाँले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रुपमा सतहमा ल्याएको बताउनुभयो ।
पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उहाँको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै आफू ७० वर्ष कट्दै गरेको र सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने मान्यता आफ्नो नभएको बताउनुभयो । प्रचण्ड अध्यक्ष भन्दा माथि भइसकेकाले एउटा राम्रो टिम बनेपछि अर्का भूमिकामा जाने सोचिरहेको उहाँको भनाइ थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



