
झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज पार्टीको प्रदेश संसदीय दलको बैठकपछि माओवादीले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी साउन ११ गते नै सरकारबाट बाहिरिएको थियो ।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको जानकारी दिए । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको हो ।
एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादी प्रतिपक्षमा पुगेको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताए । तर, आन्तरिक भाण्डबन्डामा अल्झिएको कांग्रेस भने हालसम्म सरकारमा सहभागी भएको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



