
बनियानी, २ असोज । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पढाएको विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्ने बताउनुभएको छ ।
झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविकमा मंगलबार आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले विद्यार्थी अनुत्तीर्ण हुँदा सबैभन्दा धेरै दुःख शिक्षकलाई लाग्नुपर्ने बताउनुभयो ।
“तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ”, कार्यक्रममा उपस्थित शिक्षकहरुलाई इंगित गर्दै उहाँले भन्नुभयो, “फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ ।” विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्म रुपमा अध्ययन–विश्लेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“अझ प्राथमिक तहका पढाउने शिक्षकले विश्वविद्यालयमा पढाउने भन्दा बढी मनोवैज्ञानिक रुपमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको मनोविज्ञान बुझेर डिल गर्नुभएको छ कि छैन ? व्यवहार गर्नुभएको छ कि छैन ? विचार गर्नुपर्छ ।”
शिक्षा क्षेत्रको सुधारमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहको विशेष भूमिका हुने बताउँदै उहाँले पालिकाका जनप्रतिनिधि आफू मातहत आएको शिक्षाको स्तर किन खस्कियो भनेर गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

योगदानको सम्मान गर्दै विद्यालय परिसरमा निर्माण गरिएको संस्थापक स्व.बहादुरचन्द्रसिंह राजवंशीको अर्धकदको शालिकको राष्ट्रिय सभा सदस्य सिटौलाले अनावरण गर्नुका साथै स्व. राजवंशीको परिवारलाई सम्मान–पत्रसमेत हस्तान्तरण गर्नुभयो ।
स्व. राजवंशीले विद्यालय स्थापनाका लागि १३ बिघा चार कट्ठा छ धुर जग्गा प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले जानकारी दिनुभयो । विद्यालयको रू दुई लाख ८५ हजार पाँच सय २५ र गाउँपालिकाको रू दुई लाख नौ हजार चार सय ७५ गरी कूल रू चार लाख ९५ हजारमा संस्थापक राजवंशीको अर्धकदको शालिक निर्माण गरिएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



