कनकाई, २ मंसिर । मंसिर १६ गते हुने स्थानीय तहको उप–निर्वाचनका लागि झापाको कनकाई नगरपालिका–६ मा नौ जनाले वडाध्यक्षका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
आगामी मंसीर १६ गते हुने उप–निर्वानका लागि आज उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट गणेशबहादुर थापा, नेकपा एेमालका तर्फबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओली, स्वतन्त्रका तर्फबाट लक्ष्मीप्रसाद ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नारायणप्रसाद निरौलाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जमुना राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दलबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट पदमबहादुर तामाङ र जनमत पार्टीकाका तर्फबाट सुकलाल राजवंशीले उम्मेद्वारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिनुभयो ।
कनकाई–६ का वडाध्यक्ष घीर्घबहादुर थापाको निधनपछि उक्त वडामा वडाध्यक्षका लागि निर्वाचन हुने भएको हो । भोलि ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा चुनाव हुँदैछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।