झापा, ५ मंसिर । स्थानीय तह उप निर्वाचनको मिति नजिकिएसँगै झापाको कनकाई वडा नं. ६ मा चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवार र मतदाताबीचको गरमागरम छलफल र बहसले चुनावी माहोल तातिएको छ । जिल्लाका प्रमुख राजनीति दलहरु आगामी १६ गते हुने उपनिर्वाचनको तयारीमा होमिएका छन् । स्थानीय तह निर्वाचनको आधा कार्यकाल अर्थात् अढाइ वर्षपछि हुन लागेको उपनिर्वाचनमा शक्ति परीक्षण समेत हुने भएकाले दलहरुले उपनिर्वाचनलाई महत्वका साथ हेरेका छन् ।
आफ्ना प्रत्यासी उम्मेदवारलाई बिजयी गराउन प्रमुख राजनीतिक दल सम्पूर्ण शक्ति लगाएर कनकाईको नतिजा आफ्नो पक्षमा ल्याउने तयारीमा जुटेका छन् । उपनिर्वाचनमा सबैको चासो बढेको छ । प्रमुख तीन ठूला दलले कनकाई ६ को उपनिर्वाचनलाई प्रतिष्ठानसँग गाँसेका छन् भने स्वतन्त्र उम्मेदवार पनि आफू दर्बिलो भएको दाबी गरिरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले विकासप्रेमि नेताका रुपमा परिचित जुझारु युवा गणेश थापालाई वडाध्यक्षको प्रत्यासीको रुपमा अघि सारेको छ । नेकपा एमालेले पूर्वजनप्रतिनिधि तुलाराम बस्नेतलाई चुनावी मैदानमा उतारेको छ ।
नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओली र राप्रपाबाट नारायणप्रसाद निरौला चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस पटकको उपनिर्वाचनमा कनकाई–६ प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।
‘पार्टी संगठनका हिसाबले एमाले–कांग्रेस दर्बिलो देखिए पनि यस पटकको निर्वाचन परिणाम सोचेभन्दा भिन्न आउँछ’, एक स्थानीय नेताले भने, ‘स्थानीय तहको निर्वाचन भएकाले पार्टी भन्दा व्यक्ति प्रमुख हुन्छ ।’
राजनीतिक दलको सदस्यताको आधारमा यस पटक परिणाम नआउने उनले दाबी गरे । मतदाताले हिजो गरेको कामको आधारमा उम्मेदवार छान्ने उनले बताए ।
श्रेष्ठता, योग्यता, दक्षता र क्षमताको आधारमा गणेश थापाले जित्ने आधार दर्बिलो भएको एक स्थानीयले बताए । ‘पूर्व जनप्रतिनिधिहरुले गरेको काम नागरिकले अवलोकन गरिसकेका छन्’, उनले भने, ‘यहीँको माटोमा जन्मिएको, यही भुगोलमा काम गरेको र विकास निर्माणको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्ने भएकाले उहाँले जित्ने आधार बलियो छ ।’
सो वडामा २०७९ को निर्वाचनमा दीर्घबहादुर थापा बिजयी भएका थिए । माओवादी पृष्ठभूमिका थापा एमाले प्रवेश गरेसँगै वडाध्यक्षको प्रत्यासी बनेका थिए । उनले ५०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लक्ष्मी ओलीले ४०४ मत ल्याएका थिए । त्यो बेला ओलीलाई शेरबहादुर थापाको साथ थियो । थापाले कांग्रेसबाट विद्रोह गरेर जेब्रा चुनाव चिह्न लिएर नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेवार रेवतबहादुर रेग्मीले २९४ मत ल्याएका थिए । त्यो बेला माओवादीको ७७ मत बदर भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार केशव बिमलीले २०९ मत पाएका थिए भने राप्रपाका दिलिपकुमार कार्कीले २९ मत ल्याएका थिए ।
यसैबीच, उम्मेदवारहरुले चुनाव जित्ने आआफ्नो दाबी अघि सारेका छन् । माओवादी केन्द्रका गणेश थापा आफू स्थानीय भएको र वडाबासीका हरके दुःख–सुखमा साथ दिँदै आएका कारण आफूले जित्ने दाबी गर्छन् ।
अघिल्लो चुनावमा विजयी भएका स्वर्गीय दीर्घबहादुर थापा माओवादीबाट एमालेमा गएर वडाध्यक्षको उम्मेदवार बनेको उल्लेख गर्दै उनले भने, ‘दीर्घजी हाम्रो पार्टीको यो ठाउँको शीर्ष नेता हुनुहुन्थ्यो, उहाँ एमालेबाट चुनाव लड्दा हाम्रा धेरै मत उता गए तर अहिलेको अवस्था त्यस्तो छैन, पार्टी एक ढिक्का छ, समाजवादी मोर्चामा रहेकादलहरुले समेत समर्थन गरेका कारण हामीले चुनाव जित्ने आधार बलियो ।’
नेपाली कांग्रेसका उम्मेदवार रामगोपाल ओली आफू स्थानीय भएको र विकास निर्माणका लागि निरन्तर खटिरहेकाले चुनाव जित्ने दाबी गर्छन् । ‘मैले किसान र मजदुरको पक्षमा निरन्तर काम गरेको छु’, उनले भने, ‘विभिन्न संघसंस्थामा रहेर काम गर्दा मैले देखाएको इमान्दारी र पारदर्शिता मेरो चुनाव जित्ने मुख्य आधार हो ।’
एमालेका उम्मेदवार तुलाराम बस्नेत स्वर्गीय वडाध्यक्ष दीर्घबहादुर थापाको उत्तराधिकारीका रुपमा आफ्नो उम्मेदवारी रहेको बताउँछन् । एमालेको नेतृत्वमा वडाले गरेको विकास निर्माण र सामाजिक कार्यलाई निरन्तरता दिन आफूले उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘नेकपा एमालेको दर्बिलो संगठन नै मेरो चुनाव जित्ने प्रमुख आधार हो ।’ बस्नेत २०५४ मा घैलाडुब्बा गाविसको उपाध्यक्ष भएका थिए ।
कनकाई–६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लक्ष्मी ओली आफूले यसअघि २०७४ मा पनि जनप्रतिनिधिको रुपमा काम गरेको बताउँदै भन्छन्, ‘मैले जनताको काममा निरन्तर साथ दिएको छु, विकास निर्माणको क्षेत्रमा गरेको काम नै मेरो चुनाव जित्ने मुख्य आधार हो ।’
यस्तै, कनकाई–६ मा जनमत पार्टीबाट शुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर (महेन्द्र) तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । उनीहरुले समेत जनताले आफूहरुलाई मतदान गरेर विजयी गराउने बताएका छन् । आजको सुखानी सन्देशमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।