
झापा, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।
पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुँदैछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन्।
पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ । एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो। सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा काठमाडौँ जितको लयलाई कायम राख्न चाहन्छ। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै एनपीएलमा सुखद सुरुवात गरेको थियो। सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा छ।


