
झापा, १५ पुस । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज झापा आउँदै छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् ।
झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका झापा जिल्लाका अध्यक्ष राजु आचार्य (अग्नि) ले जानकारी दिए ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी करिब ७ सय बढीलाई स्वागतसहित कार्ड वितरण गर्ने कार्यक्रम तय गरिएको छ । तमु ल्होसार पर्वको अवसर पारेर गौरीगञ्जमा गाउँ अधिवेशन आयोजना गरेपछि त्यहाँ नव–प्रवेशीलाई समावेस गरेर विभिन्न भातृ संगठनसमेत निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
निर्माणाधीन अवस्थामा अलपत्र रहेको कन्काइ पुलको अवस्थालाई स्थलगत अवलोकन र ज्ञापनपत्र बुझ्ने, दिवा भोजनपछि दमकस्थित आदिवासी जनजाति रंगशालाको अवस्थाको स्थलगत अनुगमनसहित ज्ञापन पत्र ग्रहण गर्ने र साँझ काठमाडौं जाने कार्यक्रम तय गरिएको पार्टीका अध्यक्ष आचार्यले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



