
झापा, १८ पुस । कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले मुलुकको दिगो विकास र राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्नुपर्नेमा बताउनुभएको छ ।
झापाको बिर्तामोडमा बुधबार साझामञ्च मिडिया प्रालि अन्तरगत सञ्चालिन साझामञ्च अनलाइन डटकमको १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले निर्वाचन प्रणाली फेर्ने सन्दर्भमा बहस समेत चल्न थालेको बताउनुभयो ।
“स्थायी सरकार नहुँदा मुलुकमा भनेजसरी विकास हुन सकेको छैन”, उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताका लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्छ ।” समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत पाउने गाह्रो भएको बताउँदै उहाँले आरक्षित गर्नुपर्ने समुदाय र वर्गलाई प्रत्यक्ष निर्वाचन प्रणालीमातर्फ नै समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अहिले उठिरहेको राजश्वले कमचारी पाल्न सक्ने अवस्था समेत नरहेको बताउँदै उहाँले विकासका लागि बजेट अभाव भएको सुनाउनुभयो । “भनेजस्तो विकास गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “मितव्ययी भएर काम गर्नुपर्ने अवस्था छ ।” अहिले रहेको स्थानीय तहको संख्या समेत घटाउनुपर्ने उहाँको भनाइ छ ।
मुलुकको विकासमा सबै एकजुट भएर आमनागरिकको जीवनस्तर उकास्न तीनै तहको सरकार लाग्नुपर्ने मन्त्री कार्कीले बताउनुभयो । सहकारी ‘ब्ल्याक मनी’ राख्ने ठाउँका रुपमा विकसित भएको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “अध्यादेशले नियमन गर्ने विश्वास छ ।”
कार्यक्रममा साझामञ्च अनलाइन डटकमका तीन जना पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार द्रोण अधिकारी, सरोज भट्टराई र उमानाथ भण्डारीलाई नगद रू ११ हजार एक सय ११ सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाईंले नगरपालिकामा सीमित स्रोत भएकाले मिडियालाई चाहेर पनि भनेजति सहयोग गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सक्दो सहयोग गरेका छौं, आगामी दिनमा समेत गर्छौं ।”
प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल मिडिया र सामाजिक सञ्जाल बीचको भिन्नता छुट्याउन पर्नेमा जोडदिनुभयो । आमनागरिकले सामाजिक सञ्जालबाट सूचना पाए पनि त्यसको सत्यताका लागि मिडिया नै हेर्ने गरेको बताउनुभयो । “मिडियामा पनि विकृति रहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मिडिया साक्षरता पनि जरूरी भएको छ ।”
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले कोशी प्रदेशका १४ जिल्लामा पत्रकारको अवस्था बुझ्ने तयारी प्रदेश समितिले गरिरहेको बताउनुभयो । “मिडियाको अवस्था बुझेर उनीहरुलाई उकास्ने योजनामा हामी छौं”, उहाँले भन्नुभयो, “चाँडै १४ वटै जिल्लामा अन्तरक्रिया गरिनेछ ।”
कार्यक्रममा पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष सुब्रत न्यौपाने तीन तहको सरकारले मिडिया क्षेत्रको प्रबद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “कोरोनापछि मिडियाहरु धरासायी बन्दै गएका छन्”, उहाँले भन्नुभयो, “मिडियाको अवस्था उकास्न सबै क्षेत्रको भूमिका जरुरी छ ।”
साझामञ्च मिडिया प्रालि.का उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रालि.का निर्देशक सुवास भट्टराई र सञ्चालन प्रालि.का कार्यकारी प्रमुख गोपाल काफ्ले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



