
झापा, ७ माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई निःशुल्क प्रवेश गरिएको छ ।
भोलिदेखि शुरु हुने महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी आयोजक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेकोछ ।
बिर्तामोड नगरपालिका–५ धर्मकाटा रोडस्थित महोत्सवस्थल रहेको छ । नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको महोत्सवमा १५० वटा स्टल रहेका छन् । अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहने छ भने राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताउनुभयो । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ ।
महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत सहयोग लिएको र महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरिएको छ ।
महोत्सवको उद्घाटन सत्रमा अपरान्ह १ बजे दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा नगरपरिक्रमा गरिनेछ भने नगरपरिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुनेछ । पत्रकार सम्मेलनमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव कुशवल खतिवडाले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा सामाजिक तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



