
झापा, ८ माघ । झापाको बिर्तामोडमा आजदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदैछ ।
महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने हुनुभएको छ । आज महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जातजातिको भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुभेक्षुकको उपस्थितिमा नगर परिक्रमा गरिँदै छ ।
१९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहनेछ ।

कृषिजन्यदेखि विभिन्न उत्पादन महोत्सवमा रहनेछ । महोत्सवमा बालबालिकाकादेखि ज्येष्ठ नागरिकसम्मले मनोरञ्जन र लाभ लिन सकिने छ । महोत्सवमा कृषि उद्यम र कृषि व्यापार विशेष प्राथमिकतामा राखिएको आयोजक संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
“अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलालगायतका नेपाली कृषिजन्य वस्तुलाई महोत्सवमा विशेष प्राथमिकता दिइएको छ”, उहाँँले भन्नुभयो, “महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वद्धन गर्ने हाम्रो अपेक्षा छ ।”
महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सिर्जना गराउन थप बल प्रदान गर्ने विश्वास लिइएको उहाँ बताउनुहुन्छ ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताउनुभयो ।
महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनुका साथै विभिन्न जातजातिका कला–संस्कृतिलाई समेत समेटिने जनाइएको छ । दुई लाखभन्दा बढीले महोत्सवे अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



