
सन्तोष शर्मा
बनियानी, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग नयाँ एकता गर्ने संकल्पका साथ पार्टीले अभियान शुरु गरेको बताउनुभएको छ ।
झापाको कचनकवलमा ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’को शुभारम्भ गर्नुहुँदै पार्टी अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई अझ मजबुद बनाउने महाभियानमा पार्टी लागेको बताउनुभयो ।
“कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरु मात्र ठूला भए”, उहाँले भन्नुभयो, “अब जनतासँग सहकार्य गर्छौं, जनताको ताकतबाट भ्रष्टहरुलाई तह लगाएर समृद्ध नेपाल बनाउँछौं ।” उहाँले जनताले साथ दिने विश्वास व्यक्त गर्नुहुँदै अगामी २०८४ को चुनावमा माओवादी केन्द्रले एक्लै चुनाव लडेर सबैभन्दा ठूलो दल बन्ने बताउनुभयो ।
पार्टी सरकारमा नजाने बताउहुँदै उहाँले जनताको माझमा जाने उल्लेख गर्नुभयो । “हामी सरकारमा होइन, जनतामा जान्छौं, उत्पीडित वर्ग र सामुदायमा जाछौं”, उहाँले भन्नुभयो, “भ्रष्ट र दलालहरुको होइन, जनताको राज्य कायम गर्छौं ।”
सीमा क्षेत्रमा जोडिएका उत्पीडित वर्ग र सामुदायको समस्या सुनेर त्यसको समाधान गर्न हुलाकी मार्ग अभियान शुरु गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले मध्य पहाडी राजमार्ग हुँदै पहाड र हिमालमा पुगेर राष्ट्रिय एकता सुदृढ बनाएर देशलाई नयाँ सन्देश दिने बताउनुभयो ।
वर्तमान सरकरलाई अलोकतान्त्रिक र तानाशाही भएको आरोप लगाउनुहुँदै उहाँले संघर्ष र हजारौं सहिदको बलिदानीबाट संविधान च्यात्ने प्रयास असफल बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले झापाको हात्ती समस्या समाधान गर्न पहल गर्ने, साना किसानको डिमाण्ड चार्ज घटाउन पहल गर्ने, चिया मजदुरको समस्या समाधान गर्दै चिया श्रमिकलाई राशन कार्ड लगायतको व्यवस्था गर्न पहल गर्ने, सहिद प्रतिष्ठान निर्माण, सहिद सुनिल मार्ग कालोपत्रे, सुकुम्बासी त, खानेपानी लगायका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राजनीतिक परिवर्तनका युगान्तकारी महत्वको उपलब्धि हासिल र उपभोग भइसकेको बताउनुभयो । “निरंकुश राजतन्त्रको अन्त्य होस्, चाहे गणतन्त्रको कुरा होस्, चाहे तीन तहमा सरकार गठन गरेर स्थानीय स्तरबाटै साना ठूला विकासका काम गर्ने अवस्था त्यो पूरा भइसकेको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा ४० प्रतिशत, प्रदेश र संघमा ३० प्रतिशत महिला सहभागिता पुगेको छ ।”
युगान्तकारी राजनीतिक परिवर्तनले सामाजिक, राजनीतिक रुपान्तरणको निर्देश दिएको बताउनुहुँदै उहाँले राजनीतिक रुपान्तरणलाई माध्यम र साधन बनाएर सामाजिक र आर्थिक रुपान्तरण गर्न चाहेको उल्लेख गर्नुभयो । “सामाजिक न्याय र विकासलाई तीव्र गति अघि बनाएर सबैले उपभोग गर्न सक्ने बनाउन चाहन्छौं”, उहाँले भन्नुभयो ।
अभियान शुभारम्भ कार्यक्रममा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा लगायतका शीर्ष नेताले पार्टीलाई रुपान्तरण गर्दै जनता र पार्टीबीचको सम्बन्धलाई अझ मजबुद बनाउन पार्टीले अभियान शुरु गरेको बताउनुभयो ।
कचकवलमा फहराइयो राष्ट्रिय झण्डा
यसैबीच, माओवादी केन्द्र अध्यक्ष प्रचण्डले नेपालको सबैभन्दा होचो भूभाग झापाको कचनकवलमा राष्ट्रिय झण्डा फहराउनु (झण्डोत्तलन) भएको छ । उहाँले नेपालकै होचा भूभाग कचनकवल पर्यटनको मुख्य आकर्षणको केन्द्रको रुपमा विकास गर्न सरकार र जनताले अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, जनयुद्धका क्रममा झापाको कचनकवलबाट सहिद भएका तोपलाल राजवंशी, ओम अधिकारी, गंगा मिश्र र सुनिल राजवंशीको परिवारलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतको नेताहरुले सम्मान गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



