
झापा, १६ फागुन । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ताप्लेजुङको पाथीभरा निर्माण हुन लागेको केवलकार सम्बन्धी विवाद वार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाको शिवसताक्षीमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गनुहुँदै नेता सिटौलाले दमनबाट समस्या समाधान नहुने भएकाले वार्ता र सम्वादका माध्यमबाट पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न आग्रह गर्नुभयो ।

नेता सिटौलाले गणतन्त्र अन्य गरेर राजतन्त्र ल्याउने कुरा सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो बेकारको बहसमा समय नखर्चन म आग्रह गर्छु ।’ व्यवस्था परिवर्तन हुने र आवश्यकताको आधारमा संविधान संसोधन हुने उहाँको भनाइ छ ।
“सबैको हित हुने व्यवस्था भनेकै लोकतान्त्रिक व्यवस्था हो”, उहाँले भन्नुभयो, “लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो, यसैका लागि जनताले बलिदानी दिएका हुन् ।” लोकतान्त्रिक व्यवस्था जोगाएर देशको हित काम गर्न नेपाली कांग्रेस दृढ संकल्पित रहेको उहाँले बताउनुभयो । एकतामा मात्रै बलियो शक्ति बन्न सकिने बताउनुहुँदै उहाँले नेता–कार्यकर्तालाई दुःखी र गरिब जनताको जीवनस्तर उकास्ने काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, नेपाली कांग्रेस झापाका सभापति देउकुमार, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला, मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अधिकांश वक्ताले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाको समयमै अधिवेशन गरेर चलायमान बनाउनुपर्ने, आम निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टीबाट अवसर प्राप्त गरेकाहरु आफ्नै स्वार्थमा लागेको आरोप लगाएका थिए ।
पाथीभरामा भएको केवलकार विवाद, संसदमा बहसमा रहेका अध्यादेशका विषयमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने धारणा राख्दै पार्टीमा वडैपिच्छे गुट–उपगुट देखिएकाले यसको अन्त्य गरिनुपर्ने माग गरेका थिए । शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रमेश राई र सञ्चालन होम दुलालले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
