
गौरादह, ११ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजना र झापा क्षेत्र नं ५ को संयोजनमा झापाको गौरादहस्थित विपी स्मृति भवनमा ५ नम्बर क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
‘संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे रहनुभएको थियो । उहाँले प्रत्येक वडामा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई प्रतिनिधि बनाएर पठाइए पनि कतिपय वडामा प्रतिनिधि नपुगेको गुनासो आएपछि आफूहरु नै प्रतिनिधि भएर सबै वडामा पुग्ने अभियानमा रहेको बताउनुभयो ।
पार्टीका उपसभापति केशवराज पाण्डेले पार्टीको केन्द्र, प्रदेश र जिल्लाले सञ्चालन गरेका अभियानले पार्टीलाई चलायमान बनाएको बताउँदै टोल एवं वडातहको क्रियाशिलताले नै पार्टी बलियो हुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागका संयोजक मदन संग्रौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम भएको र अन्तरक्रियामा प्राप्त सुझावहरुलाई लिपिबद्ध गरेर प्रदेश समितिलाई बुझाइने जानकारी दिनुभयो ।
संग्रौलाकै सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी र सञ्चालन राजु थापाले गर्नुभएको थियो । ५ नम्बर क्षेत्रभित्रका २१ वटा वडाका सभापतिहरुले संगठन सुदृढीकरणका समस्या, चुनौति बताउँदै सुझाव समेत राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



