
कनकाई, २३ चैत । झापाको कनकाई नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत उनीहरुलाई सवलीकरण गर्न थालिएको छ ।
अपाङ्गता पहिचान गरी कार्ड वितरणदेखि समूह गठन गरेर नियमित बचत गर्ने कार्य भइरहेको छ । कनकाई नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा समुदायमा आधारित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत हालै ९ सय ५० जनालाई अपाङ्गता परिचय पत्र समेत वितरण गरिएको छ ।
त्रिपक्षीय साझेदारीमा नगरमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएकालाई चार भागमा विभाजन गरी परिचय वितरण गरिएको अपाङ्गता सहायक सहजकर्ता भीम सुन्दासले जानकारी दिनुभयो । उहाँका अनुसार रातो परिचयपत्र २४३, निलो परिचयपत्र ३५३, पहेलो परिचयपत्र २५४ र सेतो परिचयपत्र १०० जनालाई वितरण गरिएको छ ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमलाई निरन्तरता दिइँदै आएको नगरकी सहायक पाँचौ तह टीका खतिवडाले बताउनुभयो । कार्यक्रम अन्तरगत अपाङ्गता गृह भेटघाट, स्वास्थ्य शिविर, पहिचान लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै हालसम्म चार भागमा विभाजन गरी ९५० जनालाई परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको मिलिजुली समूह गठन गरी प्रत्येक महिना मासिक बचत जारी रहेको, शिक्षक र व्यवस्थापन समितिलाई तालिम साथै अपाङ्गता भएका बालबालिकालाई शिक्षा भर्ना कार्यक्रम गरिएको सिबिआर सहजकर्ता चेतन आचार्यले बताउनुभयो ।
त्यसैगरी, जन्मिने शिशुलाई अपाङ्गता हुन नदिन फोलिक एसिड चक्की वितरण, नवदम्पत्तीलाई शुभकामना कार्ड वितरण, प्रत्येक वडाका मिलिजुली समूहलाई बचत ऋण व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम, अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई हेरचाह सीप तालिम लगायतका कार्यक्रम सञ्चालन भइरहेका सीबीआर सहजकर्ता आचार्यले बताउनुभयो ।
सोही कार्यक्रम अन्तरगत २८ दिनमाथि ५ वर्षमुनिका बालबालिकामा हुनसक्ने जन्मदोष अपाङ्गताको पहिचान र व्यवस्थापन सम्बन्धी स्क्रिनिङ गत चैत ११ गतेदेखि शुरु भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



