
अर्जुनधारा, २४ चैत । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु बैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाको एकमहिने संगठन सुदृढीकरण अभियान अन्तरगत झापाको अर्जुनधारा नगर समितिद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेस नेता कार्यकर्ताले विरोधको भाषामात्र होइन रचनात्मक सुझाव र संगठन बलियो बनाउने कार्यमा क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण प्रचार र बजार हल्लाका पछि नलागी पार्टी नीति, सिद्धान्त र विचार अनुसार अघि बढ्न सबैमा आग्रह गर्दै नेता थापाले मुहान धमिलो भएको आरोप लगाएर कुलो भत्काउने कार्यमा लाग्नुनहुने बताउनुभयो । लोकतन्त्रमा गलत गर्नेहरुमाथि कानुनी कारबाही हुने भएकाले पार्टीका कोही ब्यक्ति गलत हुनेवित्तिकै समग्र पार्टी गलत नहुने धारणा राख्नुभयो ।
पार्टीको नीति, सिद्धान्त र विचार विपरित गतिविधि गर्ने र आर्थिक अनुशासन पालना नगर्नेलाई १५ औं महाधिवेशनमा कार्यकर्ताले उचित ब्यवस्थापन गर्ने भनाई राख्दै सभापति थापाले हजारौं योद्धा र शहीदहरुको बलीदानबाट प्राप्त लोकतन्त्र, संविधान र पार्टी जोगाउन अझै पनि लाखौं कार्यकर्ता तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा एकमहिने अभियान अन्तरगत झापा क्षेत्र नं–२ का लागि जिल्ला प्रतिनिधि एवं नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराइले महाधिवेशनले दिएको म्याण्डेट विपरित बोल्ने अधिकार कसैलाई नभएको बताउँदै पार्टीको नीति र सिद्धान्त विपरित टिकाटिप्पणी गर्ने नेताहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
संविधानले किनारा लाइसकेको राजतन्त्र फर्कने सम्भावना नभएको बताउँदै उपसभापति भट्टराइले पार्टी चलायमान बनाउन टोल, वडा समितिदेखि सबै तहगत संगठन चलायमान हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीको फोरम र जनमानसमा के बोल्ने र के नबोल्ने भन्ने विषय बुझ्न जरुरी रहेको बताउँदै वि।पी।ले ल्याउनुभएको प्रजातान्त्रिक समाजवादी नीतिको पूर्ण अंगिकार गर्नुपर्ने बताउनुभयो ।
महासमिति सदस्य दीपक तामाङले मन्तब्य राख्नुभएको अन्तरक्रियात्मक कार्यक्रममा सहभागीका तर्फबाट जीवन थापा, शेखरनाथ अधिकारी, महेश ढकाल, खगेन्द्रविक्रम नेम्बाङ, महेश दाहाल, यज्ञलाल श्रेष्ठ, राम तामाङ, ध्रुवकुमार खाती, मदन ढकाल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति एवं कार्यक्रमका सभापति हेमराज खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत उपसभापति प्रशान्त भण्डारी र सञ्चालन सचिव इन्दिबर खड्काले गर्नुभएको नेपाली कांग्रेस झापा सूचना तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



