
हल्दिबारी, २४ जेठ । झापाको हल्दिबारी गाउँपालिका–५ का तीन वटा सडकमा पेवर्स जडान कार्य शुरु भएको छ ।
आज एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले सडकको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । हल्दिबारी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य काम गर्दै आएको र यहाँको विकासका लागि आफू सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बजेटको स्रोत हल्दिबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोडलाई आगामी माघ २४ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको बताउनुभयो । ती सडक निर्माणको लागत रू एक करोड आठ लाख ३५ हजार तीन सय ८६ रहेको छ ।
हल्दिबारी–५ को सातघरे दक्षिण विश्रामघाट सडक दुई सय २५ मिटर प्लमसहित रू ३७ लाख ८४ हजार पाँच सय ७०, वडा नम्बर ५ को कार्यालय जाने सडक तीन सय ३५ मिटर प्लमसहित रू ५८ लाख सात हजार ९ नौ सय २९ र कञ्चनश्री बजार क्षेत्र व्यवस्थापन सडक रू १० लाख ८४ हजार सातमा प्लमसहितको पेवर्स सडक निर्माण हुने हल्दिबारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो ।
सडक शिलान्यास कार्यक्रममा हल्दिबारी–५ का वडाध्यक्ष खड्क लावतीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पालिकाकी कर्मचारी देविका अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयबासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



