
झापा, २५ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिनुभएको छ।
झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै मन्त्री खड्काले समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औँल्याउनुभयो।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ।
“ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट — जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो। उहाँले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
विपद् पुनर्निर्माण योजनाअन्तर्गत अघि बढाइएको तटबन्ध निर्माण कार्यको स्थलगत प्रगति विवरण दिँदै ‘जनताको तटबन्ध कार्यक्रम गैँडे, झापा’ का प्रमुख इन्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



