मोरङ, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आवश्यकता र राष्ट्र हितका निम्ति संसद् सुचारु गर्ने विषयमा पार्टी सहमत भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले, सङ्घीय निजामती तथा शिक्षा सम्बन्धी ऐन लगायत विभिन्न ऐन कानुनलाई अन्तिम रुपम दिन पनि संसद् सुचारु आवश्यक भएको बताउनुभयो ।



लामो समय संसद् अवरुद्ध हुँदा मुलुकमा राजनीतिक अन्यौल सृजना हुने गरेकाले पनि मुलुकको आवश्यकता अनुसार संसद् सुचारु गर्न आफ्नो पार्टी सहमत भएको उहाँले प्रष्ट पार्नुभयो ।
एक प्रश्नमा देश र जनताको हितका निम्ति कहिले अघि बढ्नुपर्ने र कहिले पछि हट्नु पर्ने अवस्था आउने भएकाले आफूले एक कदम पछि हटेर भएपनि संसद् सुचारु गर्न दुई बुँदे सहमति गरेकाले यस विषयमा आफूलाई जसले जे भने पनि फरक नपर्ने बताउनुभयो । विगतको परम्परा अनुसार दलहरू बिच सहमति भएर संसद् सुचारु भएको उहाँले प्रष्ट पार्नुभयो ।
भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिना भित्र समिति बनाएर छानविन गर्दै सत्यतथ्य कुरा बाहिर ल्याउने विषयमा भएको दुई बुँदे सहमति कार्यान्वयन हुनेमा आफु ढुक्क रहेको उहाँले बताउनुभयो ।
यो विषयमा अहिलेको गृहमन्त्रीको नाम जोडिएर जुन कुराहरू बाहिर आएको छ , अहिलेको गृहमन्त्रीसँग मात्र होइन यो विषय धेरै पहिले देखि उठेकाले यस विषयमा गम्भीर छानविन हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले संसद् सुचारु गर्नका लागी आफ्नो पार्टीले सरकारमा जानका लागि नभएको प्रष्ट पार्दै आफ्नो पार्टी अहिले सरकारमा नजाने बताउनुभयो । एक अर्को प्रश्नमा उहाँले संसद् सुचारुका लागि भएको सहमति अग्निप्रसाद सापकोटाको विषयमा पार्टीले बार्गेनिङ गर्न खोजेको कुरा कपोकल्पित भएको र यसमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो । जर्नादन शर्मालाई आफूले अर्को पार्टी खोल्न कहिले नभनेको उहाँको भनाई थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


