बिर्तामोड, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अधिवेशन खुलाउनुका कारण बारे खुलासा गरेका छन् ।
शनिबार झापाको कमल गाउँपालिकामा आयोजित पाँच जातीय मोर्चाको राष्ट्रीय अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद अधिवेशन खुलाउनुको चार कारण बारे खुलासा गरेका छन् ।



‘संसद अधिवेशन अवरुद्ध थियो, सरकारले अध्ययन छानबिन समिति बनाएर एक महिना भित्र गर्न तयार भएपछि संसद अधिवेशन खोलेर बहस गर्न तयार हुनुपर्छ, किनकि त्यहाँ भित्र जनताका कतिपय मुद्दा छन्, ‘उनले भने, ‘म तपाईंहरुलाई बिशेष रुपले भन्न चाहन्छु म प्रधानमन्त्री हुँदा धेरै मेहेनत गरेर सदनमा पुर्याएको त्यो संघीय निजामती ऐन अन्तिम चरणमा छ त्यसलाई पारित गरिछाड्नु छ संघीयतालाई सुदृढ बनाउनका लागि, त्यो दायित्वपनि हाम्रो छ ।’
उनले दुई बुँदे सहमति गरेर संसद अधिवेशन खुलाउनु पर्ने अन्य कारणहरुमा शिक्षा विधेयक, नागरिकतासम्बन्धि समस्या र शान्ति सम्झौतासँग सम्बन्धि केहि महत्वपूर्ण कुराहरुको टुंगो लगाउनु पर्ने रहेको बताए ।
माओवादीप्रति जनताको विश्वास ह्वात्तै बढेको देखेर चौतर्फी घेराबन्दी भइरहेको प्रचण्डले बताए । माओवादीलाई बद्नामी गराउन नियोजित षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


